कुलुङसम्बन्धी केही जानकारी तथा इतिहास

वर्तमानमा नेपालका आदिवासीहरूमध्ये कुलुङ एक छुट्टै पहिचान र इतिहास भएको समुदाय हो । यद्यपि, आदिवासीजनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले अन्य थुप्रै आदिवासीहरूसँगै कुलुङलाई पहिचान दिन सकेन ।

जसको परिणाम स्वरुप अहिलेसम्म राज्यबाट पाउने सेवा, सुविधा, श्रोत र अवसरबाट बञ्चित हुँदै आएको अवस्था छ । राज्यले केही सीमित अधिकार दिने गरी बनाएको कानुन र त्यस निर्देशित संस्थाले पहिचान दिन छुटाएकाले लामो समयदेखि कुलुङ समुदाय जातीय स्वपहिचान र सूचीकरणको लडाइमा छ । कुलुङ समुदाय(जाति)कै अगुवाइमा भएको आन्दोलनले आदिवासी जनजाति सूचिपरिमार्जन उच्चस्तरीय कार्य दल गठन नेपाल सरकार बाध्य भयो । कार्यदलले थप २५ सहित ८१ समूहलाई आदिवासीमा सूचिकृत गर्न सरकारलाई सिफारिस गरेको छ । सिफारिसले कुलुङ भिन्न पहिचान भएको आदिवासी जाति भएको पुष्टि गरेको छ । तथापि कुलुङ समुदाय भित्र ‘को कुलुङ हुन्’ र ‘को होइनन्’ भन्ने बहस सतहमा आएका छन् । यही सन्दर्भमा कुलुङ जाति को हुन् र यसको आधारहरू के छन् ? भन्ने विषयमा यो आलेखमार्फत प्रष्ट पार्ने कोसिस गरिएको छ ।

कुलुङ जाति उत्पति
कुलुङ बंशवली र मिथक अनुसार खारकी श्रीमती दुम्दिलिम गल्काम्माले मिनापोङ्खो हाल्कुम्बुमा खोक्चीलिप जन्माइन् । खोक्चीलिपले नागी वंशका पाछोक्सी येरुकाकी छोरी वेइलिम्मासित विवाह गरे । खोक्चिलिपले वेइलिमसँग विवाह गरेपछि उनीहरूले मिनापोङ्खो हाल्कुम्बू(मानव उत्पत्तिस्थल–ब्रह्मपुत्रको मैदान)मा पहिलो मानव बस्ती बसाएर सभ्यताको सुरुवात गरे । खोक्चिलिप र वेइलिमको सन्तानका रुपमा रोदु वा किराँतको जन्म भयो । तिनै किरातका सन्तानहरू फैलिँदै जाँदा ब्रह्मपुत्र किनारबाट गंगाको उत्तरी मैदान र सिन्धू घाँटीसम्म पुगे । अधिकांश इतिहासकारले लेखेका छन् – कामरुप(आसाम) पनि भनिने मिनापोङ्खो–हाल्कुम्बूबाटै किरात सभ्यताको विकास भएको हो । ब्रह्मपुत्र वरिपरिबाट किरातीहरू समग्र उत्तरी गंगाको मैदानी भागमा विफैलिएका थिए । किरात सभ्यता सिन्दूघाँटीसम्म विकसित भएको थियो । किरातहरूले एक समय ब्रह्मपुत्रदेखि गंगाको मैदान हुँदै सिन्दू घाँटीसम्म एकछत्र किरात आवाद चलेको थियो । हड्प्पा र महनजोड्डोको सभ्यता किरातहरूकै थियो भनेर इतिहासकार दुर्गाहाङ याक्खाले दाबी गरेका छन् । खेतीपातीमा रमाएर बसेका किरातहरूको ककेसियाबाट युरोप, मध्यपूर्व हुँदै भारतीय उप–महादिप आइपुगेका आर्यहरूसँग भेट भयो । करिब ५ हजार वर्षपहिले दुई समूहबीच युद्ध हुँदा किरातीहरू हारे । आर्यहरूबाट युद्धमा हारेपछि उनीहरू क्रमश: गंगाको मैदानबाट उत्तरी हिमालय पर्वततिर लागे ।

हिमालय पर्वततिर लागेका किरात समूहको एउटा गण नायक एलम्बरले करिब ३८ सय वर्ष पहिले काठमाण्डौं उपत्यकामा अधिपत्य जमाए । एलम्बरले स्थापना गरेको राज्य एलाखोममा ३२ पुस्तासम्म किरात किरात शासन चलेको इतिहास छ । जसलाई किरात काल भनेर इतिहासमा पढिँदै आएको छ । जब लिच्छवीहरूले एलाखोम (एलम्बरको भूमि)बाट किरातहरू विस्थापित गराए, त्यसपछि उनीहरू साँखु, बनेपा हुँदै सुनकोशी जलाधार क्षेत्रमा आइपुगे र नदी किनार हुँदै पूर्वतिर लागे । उपत्यकाबाट विस्थापित भएर आएका किरात समूहहरू वर्तमान खोटाङ, ओखलढुङ्गा र सोलुखम्बूका केही ठाउँमा बस्न थाले । वास्तवमा काठमाण्डौ उपत्यकाबाट विस्थापित भएर पूर्वतिर लागेको एक किरात समूहको सन्तान नै अहिलेको कुलुङहरू हुन् । कुलुङ मिथक(लोककथा)ले खोटाङको रावा उपत्यकासँग महाकुलुङ सम्बन्ध रहेको देखाउँछ । यसबाट के भन्न सकिन्छ भने कुलुङका पूर्खाहरू महाकुलुङमा आउनुअघि त्यता बसोबास गर्दथे । किरात मुलका अन्य जातिको इतिहास पढ्दा कुलुङ लगायत सबै एलाखोम उपत्यकाबाट पूर्व लागेका किरात सन्तान नै उनीहरू भएको बताउँछ ।

कुलुङ मिथक अनुसार किरातका सन्तानहरू खम्बुहो, नेवाहाङ, मेत्नाहाङ, मेरात्ती आदि थिए । उनीहरूले अलग अलग ठाउँमा आफ्नो सभ्यता विकास गरेर । उनीहरू अनेकौं उप समूहमा बाँडिए । यसमा विभिन्न नदीको जलाधार क्षेत्रलाई आधार बनाएर कुलुङ मिथकले वर्णनन् गरेको देखिन्छ । लिखु– सुनुवार, सुनकोशी–दूधकोशी– खम्बू, अरुण– मेवाहाङ र तमोर– याक्थुम्बा(लम्बू) भनिएको छ । बसोबासका दृष्टिले यो कुरामा केही मेल खाएको जस्तो देखिन्छ । तर इतिहास मिथक जसरी नबगेका कारण ऐतिहासिक कसीबाट हेर्दा यो भनाइलाई केही संशोधन गर्नु पर्ने देखिन्छ । सुनकोशी र दूधकोशी जलाधार क्षेत्रमा फरक पहिचान भएका दर्जन किरात जातिहरूले सभ्यता विकास गरेको देखिन्छ ।
कुलुङ मिथकमा किरात–आर्य युद्ध, उपत्यकाको किरात शासन आदिका बारेमा संकेत गरिएको पाइन्न । जसरी लिच्छवीले विस्थापित गरेपछि किरात कहाँ गए भन्ने नेपालको इतिहासमा उल्लेख छैन । तर मिथकले के संकेत गर्छ भने किरातहरू सुरक्षित बसोबासकै खोजीमा पहाडतिर लागेका थिए । मिथक अनुसार मिनापोङ्खो हाल्कुम्बूबाट गंगाको मैदान हुँदै हिमालय पर्वततिर लागेका किरातहरूमध्ये खम्बूहो वंशीय छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका चार पूर्खाहरू होङ्गु उपत्यका (वर्तमान महाकुलुङ) शिकार खेल्दै आइपुगे । शिकार खेल्दै आएका उनीहरूले कालान्तरमा यही स्थायी बसोबास गर्न पुगे । तिनै चार पुर्खा र उनीहरूका दर सन्तानले होङ्गु उपत्यकामा साझा सभ्याता र सँस्कृतिको निर्माण गरे । जसले कुलुङ भनेर अन्यत्र चिनाए । कुलुङ सभ्यता, कुलुङ भाषा र कुलुङ सँस्कृतिको निर्माण गरे । नश्लीय रुपमा एउटै समूहका छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु चार पर्खाका सन्तानहरूलाई साझा भाषा–सँस्कृति र इतिहासले कुलुङ जाति बनाएको देखिन्छ ।

जातिको निर्माण कसरी ?
सामान्यत: संसारमा जातिको निर्माण सँस्कृति र भूमिको आधारमा हुने गर्दछ । एउटा निश्चित भूगोलमा बस्नेहरूले साझा संस्कृतिको निर्माण गरेका हुन्छन् र त्यसलाई अन्यले पछ्याउँछ । एउटै सँस्कृति हुनेहरूबीच भाषाले अपनत्व वा हामी भन्ने भावनाको सृजना गर्छ । समाज एउटा सुत्रमा बाँध्ने काम भाषाले गरेको हुन्छ । एउटै नश्लका मानिसहरू पनि फरक सँस्कृति, फरक भूगोल, फरक भाषा र मनोविज्ञानले अलग जातिको पहिचान बनाएको पाइन्छ । जाति निर्माणमा नश्लको नभइ सँस्कृति र भाषाको भूमिका महत्त्वपूर्ण हुन्छ ।

नेपालमा नेवार समुदायलाई यसको उदाहरणको रुपमा लिन सकिन्छ । दर्जनौ नश्लका मानिसहरू नेपाल उपत्यकामा प्रवेशपछि नेवारी सँस्कृतिलाई स्वीकार गरे, नेवारी भाषा बोले । अहिले एउटै नेवार, जातिको रुपमा साझा भाषा र सँस्कृतिले एउटा मालामा उनेको छ । नेवारी भाषा बोलेको र नेवारी सँस्कृति अंगालेकै आधारमा उनीहरू नेवार जाति भए र त्यसमा गौरव गर्छन् । नश्लीय आधारमा हेर्ने हो भने नेवार समुदायभित्र आर्य, किरात, ड्रविड, मङ्गोलियन लगायतका छन् । अर्को एउटै नश्लका भएपनि धर्मका कारण तामाङ र गुरुङहरूले किरात भन्दा अलग जातीय पहिचान बनाएका छन् । नेपाल लगायत दक्षिण एशियामा यसको दर्जनौ उदाहरण देख्न सकिन्छ ।

जातिको परिभाषा
कसैले आफूलाई अलग जातिको रुपमा दावी गरीरहँदा केलाई जाति भनिन्छ भन्ने कुरालाई ध्यान दिनुपर्दछ । सामान्यत: जाति राष्ट्रियताको आधारमा छुट्टिने मनुष्यको एक इकाइ, भौगालिक आधारमा अलग मानिसहरूको एक इकाइ, संस्कार वा धर्म अनुसार छुट्टिने मानव शाखा, शारीरिक बनोट वा गुण वा आकारप्रकारबाट छुट्टिने एक जीव वा निर्जीव वस्तुको इकाइ नै जाति हो । अंग्रेजीमा race (नश्ल/जाति)को अर्थ : One of the main groups that humans can be divided into according to their physical differences for example color of their skin, the Caucasian, the Mongolian etc.भनिएको छ । यसले बताउँछ कि जाति भनेको मानिसको त्यो समूहगत विभाजन हो जहाँ शारीरिक भिन्नताले छुट्ट्याइएको हुन्छ ।

आदवासी हुने आधारहरू

कुलुङ समुदायले विगत लामो समयदेखि आफूलाई अलग आदिवासी जातिका रुपमा दावी गर्दै आएको छ । कुलुङ समुदायकै अगुवाइमा आदिवासी सूचीकरण अभियानले एउटा उचाइ पायो । आदिवासी जनजाति सूचि परिमार्र्जन उच्चस्तरीय कार्यदल बनाउन सरकार गठन गर्न बाध्य भयो । कार्यदलले आफ्नो प्रतिवेदनमा पहिलेको सूचिलाई केही परिमार्जन गर्दै कुलुङसहित थप नयाँ आदिवासी जातिको सिफारिससमेत गरी सकेको छ । कुलुङ आदिवासी जातिमा सूचीकरणका लागि सिफारिस भएपछि दाबी सही भएको पुष्टि भइसकेको छ । संसारमा आदिवासी जाति बन्नका लागि केही निश्चित आधारहरू हुन्छन् । समाजशास्त्री÷मानवशास्त्री र भाषाशास्त्रीहरू तथा अन्तराष्ट्रिय महासन्धि र घोषणा–पत्रले आदिवासी जाति हुने आधारका रुपमा छुट्टै भाषा, छुट्टै सँस्कृति, लिखित वा अलिखित इतिहास, छुट्टै आदिभूमि, हामी भन्ने भावनालाई मानेका छन् । कुलुङ समुदायसँग उल्लेखित सम्पूर्ण आधार र प्रमाणहरू रहेको छन् । छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लुको साझा भाषा कुलुङ, सँस्कृति कुलुङ, मौखिक इतिहास, महाकुलुङ भुमि र हामी भन्ने भावना रहेको छ ।

कुलुङ जातिको निर्माण
कुलुङ किम्बदन्ती अनुसार खम्बूहो वंशका चारजना पूर्खाहरू हुङ्गु उपत्यका प्रवेश गरेको थिए । छेम्सी, ताम्सी, खप्दुलु र राताप्खु नामका ति दाजुभाइहरू कोही अघि र कोही पछि महाकुलुङ आएका थिए । सबैभन्दा पहिले छेम्सी आएका थिए । छेम्सीपछि राताप्खु आए । समयक्रममा ताम्सी र खप्दुलु दुई भाइ हुङ्गु उपत्यका प्रवेश गरेर बस्न थाले । राताप्खु, ताम्सी र खप्दुलु छेम्सिले बोलेकै भाषा बोल्दथे । खास उनीहरू दाजुभाइका सन्तान थिए । एउटै भाषा बोल्ने र समान सँस्कार भएका उनीहरूले आपसमा सामुहिकता जनाउन आफूलाई कुलुछा भनेर सम्बोधन गर्दथे । जसको अर्थ हामी सहगोत्री भन्ने हुन्थ्यो र्। कुलुछा’ शब्द्ध कालान्तरमा रुपान्तरण भएर् कुलुङ’ भएको विश्वास गरिन्छ । अर्को भनाइ के छ भने व्यवस्थित बसोबासको विकास भइनसकेको अवस्थामा पहिलेका पुर्खाहरू ओडारमा बस्दथे । ओडार सामान्यत: पानी नजिकै पाइने स्थानमा हुन्थ्यो । महाकुलुङमा पहिलो प्रवेश गर्ने छेम्सी त्यस्तै ठाउँ खोजेर वर्तमान सोलुखम्बूको पावै गाविसमा पर्ने हुलु क्षेत्रमा बसे । कुलुङ भाषामा पानीसहितको ढुङ्गालाई ‘काउलुङ’ भनिन्छ । यस्तै ओडारमा बसेका छेम्सी र उनका दाजुभाइहरू ‘कुलु’ हुँदै ‘कुलुङ’ भनिए वा भए । कुलुङ पूर्खाहरू ‘काउलुङ’वाट कुलु वा कुलुङ भएको बताउँदछन् । महाकुलुङ उपत्यकालाई ‘कुलु’ नामले सम्बोधन गर्ने पुरानो चलन पनि छ ।

ताम्सी, छेम्सी, खप्दुलु(पिल्मो) र राप्खु(सोताङ) सबै आफुले बोल्ने भाषालाई ‘कुलुरिङ’ वा ‘ईरिङ’ भन्दथे । चारदाजुभाइले उनीहरूबीच सामुहिकता जनाउन आफ्नो भाषा र संस्कारलाई ‘कुलु रिङ–रिदुम’ नामले पुकारे । त्यही कुलु शब्द कालान्तरमा कुलुङ भयो । ‘कुलु’ शब्दले एउटै वंशका स्व:जातीय भन्ने जनाउँदछ । छेम्सि, ताम्सी, खप्दुलु र राताप्खुका सन्तानबीच कुलुङ शब्दले सामुहिकतालाई बुझाउँछ र यो साझा सँस्कृति र सभ्यता पनि हो । यही कुलुङ शब्दलाई ती चार दाजुभाइको आफ्नो साझा पहिचान बनाए र आफूलाई कुलुङ जाति भनेर चिनाए । महाकुलुङबाट संसारभर फैलिएका मानिसहरू कुलुङ भनेर चिनिन्छन् ।

मानवशास्त्री चार्लस मेकडुगलका अनुसार छेम्सी सुरुमा हुलुमा आएर बसे । पछि शिकार खेल्ने क्रममा वर्तमान छेस्काम गाविसको छेम्सीसम्म पुगे । धेरै शिकार पाइने भएकोले छेम्सी अधिकांश त्यतै बस्न थाले । त्यो कुरा पहिल्यैदेखि बस्दै आएका रुपिहाङ्छा वंशका मान्छेहरूलाई मन परेन र उनीहरूले छेम्सीलाई लखेट्ने प्रयास गर्न थाले ।
रुपिहाङ्छाहरूको अत्याचार सहन नसकेपछि दाइ ताम्सीलाई लिन छेम्सी रावा गए । ताम्सीलाई लिएर आएपछि छेम्सी र ताम्सी दुई दाजुभाइले युद्धमा रुपिहाङ्छाहरूलाई पराजित गरेर महाकुलुङ उपत्यकामा अधिपत्य जमाएका थिए । युद्ध सघाएको पुरस्कार स्वरुप छेम्सीले ताम्सीलाई बर्तमान छेस्काममा भूमि दिएर बसाए । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १८)

मानवशास्त्री चाल्र्स मेकडुगलले छेम्सी, ताम्सी, पिल्मो, सोत्तो र नाम्लु कुलुङका उप–जातिहरू हुन् भनेका छन् । मेकडुगलका अनुसार हुङ्गु उपत्यका र वरिपरिको क्षेत्र समावेशित भू–भाग कुलुङ आदिवासी जातिको किपट हो– जसलाई महाकुलुङ(विस्तारित कुलुङ भुमि) भनेर चिनिन्छ । (चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज, पेज १९)

कुलुङका उप–जाति छेम्सी, ताम्सी, पिल्मो र सोत्तो

व्यक्तिगत स्वार्थ र अलगाववादी जनजाति मानसिकताका कारण केहीले इतिहासको अपव्याख्या गरीदिँदा कुलुङ समुदायका प्रमुख वंशहरू छेम्सी, ताम्सी, पिल्मो, सोत्तो अलग जातिका हुन् की भन्ने केहीमा भ्रम सृजना भएको पाइन्छ । तर हाम्रो पूर्खाले भनिल्याएको कैरन र लिखित इतिहासले देखाउँछ उनीहरू अलग नभइ एकै जातिका हुन् । यस विषयलार्ई गहिरो गरी हेर्नु आवश्यक छ । अगाडि भनिसकिएको छ एउटा स्वाधिन जाति बन्नलाई त्यो समुदायसँग छुट्टै साझा भाषा, छुट्टै साझा सँस्कृति, साझा लिखित वा अलिखित इतिहास, छुट्टै साझा आदिभूमि र हामी भन्ने भावना आवश्यक छ । सोत्तो, पिल्मो, छेम्सि र ताम्सीमा एउटै जाति हुने सबै किसिमका सामुहिकताहरू छन् । उनीहरूको सामुहिक भाषा ‘कुलुङ’ छ, सामुहिक संस्कृति ‘कुलु रिदुम’ छ । जन्मदेखि मृत्युसम्मको संस्कार तथा संस्कृतिहरू, चाडपर्वहरू, भेषभूषा साझा छन् । सबै संस्कार गराउने मोप, सातिपुस, नोक्छो आदि सामुहिक छन् । साझा इतिहास छन् । उनीहरू सबै विकसित भएको साझा भूगोल हुङ्गु उपत्यका हो । महाकुलुङ छेम्सी कुलु, ताम्सी कुलु, पेल्मो कुलु, सोत्तो कुलु, पावै कुलु सबैको साझा ऐतिहासिक भूमि हो । कुलुङ जातिकै नामबाट महाकुलुङ, कुलुङ जस्ता ठाउँहरूको नाम रहन गएको पाइन्छ । उनीहरूमा संस्कार संस्कृति, चाल चलन (जीवन शैली) समान छ । हामीमा भन्ने भावना छ । छेम्सी, ताम्सी, पिल्मो, सोत्तो सबै एक दाजुभाइ भएकै कारण नेपाल एकिकरणपछि ‘महाकुलुङ’ किपट राज्यले प्रदान गरेको थियो । वंशवलीकै आधारमा भन्ने हो भने छेम्सी, ताम्सी, पिल्मो, नाचिरी आदि हाम्रा पुर्खाका नामहरू थिए । संसारमा एउटै पूर्खाको नामबाट जातिको निर्माण भएको इतिहास पाइन्न । जाति निर्माणमा सँस्कृतिको मूख्य भुमिका हुन्छ । किनभने कोही व्यक्तिको सनकमा एकैपटक सँस्कृतिको निर्माण सम्भव छैन । कुलुङ जातिसँग नजिकैको क्षेत्रमा बसोबास गर्ने थुलुङ(थुलु) र खालिङ(ख्याल) कुनै व्यक्तिको नाम थिएन । स्थान विशेष र सँस्कृति थियो । राम्ररी नबुझी एउटा पूर्खाको नामबाट जाति विभाजन गर्ने हो भने त्यो भन्दा दुर्भाग्य केही हुन्न ।

कुलुङ समुदायका अध्येता भूध्वज थोमरोसद्धारा लिखित सबै पुस्तक र प्रकाशनमा सोत्तो, पिल्मो, छेम्सी र ताम्सी कुलुङ भएको बताएका छन् । थोमरोसकै भनाइलाई हेरौं : कुलुङ किम्दन्ती अनुसार कुलुङ जातिको उद्गम स्थल महाकुलुङ हो । महाकुलुङभित्र वर्तमान सोलुखुम्बू जिल्लाको पावै, सोताङ, बुङ, छेस्काम र गुदेल गाविसहरू पर्दछन भनेर कलुङ साँस्कृतिक अध्ययन–२०५७ पुस्तकको पेज ३ लेखेका छन् । सोही पुस्तकमा कुलुङ जातिहरूको नागीको ‘नाताबम(कुलुङ पूर्खा हिँडेको प्रमुख ठाउँहरूलाई पुकार्नु)’ पुर्खाले चर्चेको भूमिहरूलाई पुकारिन्छ । महकालुलङबाट केन्पा भञ्ज्याङ पार गरेर संखुवासभा, सुनसरी, मोरङ, झापा, इलाम, दार्जीलिङ, सिक्किम पुगेकाहरूले पुगेको ठाउँमा नागी पुज्दा पहिले पूर्खाले टेकेका सबै भूमिहरू पुकार्दै केन्पा भञ्ज्याङ भएर महाकुलुङ प्रवेश गर्दछन् । महाकुलुङबाट कुलुपोङ्खो–साल्पा भञ्ज्याङ हुँदै भोजपुर र अन्यत्र पुगेका कुलुङहरूले आफ्नो पूर्खा वा आफुले टेकेको÷चर्चेको भूमिहरू पुकार्दै आएर कुलुपोङ्खो भन्ज्याङ भएर महाकुलुङ प्रवेश गर्दछन् । महाकुलुङबाट नेपाल वा अन्यदेशमा गएर बसोबास गरेका कुलुङहरूको नागी पुज्दा महाकुलुङ प्रवेश गरेपछि मात्र महाकुलुङमा बस्ने कुलुङहरूले पुकार्ने ठाउँहरू पुकार्दै नागी पुज्दछन् । संसारका जुनसुकै भूभागमा बसेका कुलुङहरूको नागी पुज्दा छेस्कामको ‘दिन्दोरोउ’ नपुगी हुँदैन ।

त्यस्तै थोमरोस्ले लेखेका छन् : मृत्यु सम्बन्धि संस्कारलाई हेर्दा सबै कुलुङ जाति(सोत्तो, पिल्मो, छेम्सी, ताम्सी)को मृतात्मालाई पोम्लालुङ पुर्‍याउने गरिन्छ । पोम्लालुङको अर्थ मृतात्मा राख्ने ढुङ्गा हो । सोलुखम्बु गुदेल गाविसको लिम्चोला गाउँमाथिको ओडारलाई पोम्लालुङ भनिन्छ । कुलुङ पुर्खाको महाकुलुङ प्रवेशपछि भएको पहिलो मृतकको लास पोम्लालुङमा लगेर गाडिएको थियो । किम्बदन्ती अनुसार रावाखोलाबाट राताप्खु नाम गरेको कुलुङ पुर्खा वर्तमान गुदेल शिकार खेल्दै पुगेछन् । उनका दुई छोराहरू रितिवेल र काचीबुइवारिन्दो साथमै लगेछन् । वर्तमान पोम्लालुङ भएको ठाउँमा शिकार खेल्दै पुग्दा राताप्खुका छोरा काचिबुइवारिन्दोको मृत्यु भएछ । राताप्खुले मृतक छोरालाई आफू बसेकै ओडारमा गाडीराखे । त्यसपछिका मृतकहरूको आत्मापनि पोम्लालुङ नै पुर्‍याउने गरिएको विश्वास गरिन्छ । कुलुङ समुदायका मान्छे संसारको जहाँ मरेको भएपनि मृतात्मालाई पोम्लालुङ नै पुर्‍याउने गरिन्छ । कुलुङहरूको मृत्यु संस्कारका बेला मृतात्मालाई बुङ– ७ सोमरो डाँडामा भएको पोम्लाकाऊ पानी खाएर जान भनिन्छ ।
थोम्रोसले पछिल्लो पटक सोताङ–कुलुङ वंशवली–२०६४ मा ‘सोताङ र कुलुङ एउटा भाषा र सँस्कृतिमा उनिएको माला हो, उनीहरूको उद्गमथलो महाकुलुङ मानिन्छ । महाकुलुङ नेपालको सोलुखुम्बू जिल्लाको सोताङ, पावै, बुङ, छेस्काम र गुदेल गाविसले ओगटेको भू–भाग हो ।’ प्रष्टसँग लेखेका छन् । भूपध्वज थोमरोस्द्वारा लिखित तथा दुर्गामाया होलुम्बूद्वारा २०५० मा प्रकाशित ‘कुलुङ संक्षिप्त परिचय’ नामक पु।स्तकमा उल्लेखीत तलका पक्तिहरू उल्ले खगरेका छन् ।
1. ‘‘कुलुङ रीतिथिति अनुसारका पाछाहरू राताप्खू, कुलुङ र पिल्मोङ तीन वंशमा विभाजित छन्’’ ।
2. ‘खाप्दुलूको सन्तान पिल्मोङ गाउँमा विकसित भएकोले पिल्मोङ वंश भनिन्छ । पिल्मो वंशको कुलुङ पाछाहरू सुर्बा, होनित्ती, गोक्तुलू, लोवात्ती, मोरोमूल, थोप, छेन्हो, देउराम, राजित्ती, थोमरोस्, गुरुत्तीस, होलोत्ती, हिन्दुखू, छेइमाहो, येइसा, यातिहो, छानिती, श्रीपोस्, रोजीपोस् आदि हुन् ।’’

कुलुङ संघ निर्माणको इतिहास
कुलुङ समुदायमा जातीय पहिचानको खोजी धेरै पहिलेदेखि हुँदै आएको देखिन्छ । तिलकशंकर सोम्फोरु, कृष्णबहादुर गान्खू लगायतका मानिसहरूको भुमिका महत्त्वपूर्ण छ । अन्य व्यक्तिहरूले पनि यसमा चासो राखेका थिए । संगठित रुपमा पहिलो कुलुङ जातिको ऐतिहासिक भेला २०४९ पौषमा सम्पन्न भएको थियो । त्यही भेलाले कुलुङ जातिलाई पहिलो पटक संगठित स्वरुप प्रदान गर्‍यो । त्यही भेलाले नेपाल किरात कुलुङ भाषा सँस्कृति उत्थान संघ स्थापना गर्‍यो । पछि काठमाण्डौंमा हुने कुलुङ समुदायका केही व्यक्तिहरूले कुलुङ राई भाषा सँस्कृति उत्थान संघ, काठमाण्डौं गठन गर्‍यो । कुलुङ जातिलाई पहिचान दिलाउने क्रममा त्यसको महत्त्वपूर्ण योगदान रह्यो । कुलुङ वंशवली २०५४ सालमा सोही संस्थाले गरेको थियो । त्यो वास्तवमै कोशेढुंगा थियो । कुलुङ भाषा सँस्कृति उत्थान संघको संस्थापक महासचिव भूपध्वज थोमरोस कुलुङ थिए । उनकै नेतृत्वमा २०५५ सालसम्म कुलुङ संघ सञ्चालन भएको थियो र वंशवली प्रकाशनको नेतृत्व उनीबाटै भएको थियो ।
छेम्सी, ताम्सी, पिल्मो, सोत्तो, नाम्लु समूहका सवै कुलुङहरू मिलेर कुलुङ संघ ‘नेपाल किरात कुलुङ भाषा, संस्कृति उत्थान संघ’ स्थापना भएको थियो । कुलुङ संघको दस्तावेजहरू अध्ययन गर्दा अधिकांश नेतृत्व पिल्मो र सोत्तोहरूबाटै हुँदै आएको देखिन्छ । छेम्सी, ताम्सी, पिल्मो÷दिस्मी, नास्मी÷नाचिरी आदिका सन्तानहरू कुलुङ भएकै कारण उनीहरूको भाषा, संस्कृति, वंशावली, रहनसहन साझा छ । उनीहरूमा सामुहिकता छ । यसै अनुरुप यी दाजुभाइहरू मिलेर कुलुङ संघ ‘नेपाल किरात कुलुङ भाषा, संस्कृति उत्थान संघ’ को स्थापना गरिएको हो । वर्तमान कुलुङ संघको प्रमुख नेतृत्वमा पिल्मो र सोत्तो समुदायबाट सम्हाल्ने काम भइरहेको छ ।
तर केही व्यक्तिहरू (अध्ययन कमी र इतिहास नवुझेका)वाट समय समयमा भ्रम सृजना गर्ने गरेको पाइन्छ । यसले हाम्रो सोझा, सिधा दाजुभाइ, दिदीवहिनीहरूमा अन्योलता छाएको छ । विभिन्न क्षेत्र, विदेशवाट पनि प्रश्न उठीरहेको छ । यस किसिमको भ्रमवाट मुक्त भै हाम्रो पहिचान र परंपरागत सामुहिकतालाई वलियो वनाउन सवै कुलुङ समुदायको कर्तव्य हो ।

पिल्मोहरू किन कुलुङ नै हुन् ?
केही मानिसहरू पिल्मोलाई कुलुङ होइनन् भन्ने भ्रम छरिरहेका छन् । माथि भनि सकिएको छ, चार आदिम कुलुङ पूर्खाहरूमध्ये पिल्मो(खप्दुलु) एक थिए । बुझ्नु पर्ने कुरा केहो भने पिल्मो वंश अन्यत्र जातिको रुपमा विकसित भएर महाकुलुङ आएका होइनन् । कुलुङ सभ्यताकै रुपमा छेम्सी, ताम्सी, सोत्तोसँगै पिल्मो विकास भएको हो । राताप्खु र खप्दुलुहरू महाकुलुङ प्रवेश गर्दा नाछिरिङ भन्ने कुनै जातिको विकास भएको थिएन । नाछिरिङ जाति हो भने त्यसअघि कतै अलग सभ्यताको रुपमा विकसित भएर आएको देखिनु पर्दछ । मिथक आफैँमा इतिहास होइन तथापि लिखित इतिहास नहुँदा यसैको साहारा लिइन्छ । कुलुङ मिथकलाई हेर्दा छेम्सी जस्तै राताप्खु र खप्दुलु घुमन्ते शिकारीका रुपमा, अहिलेको जस्तो सभ्यताको विकास हुनुअघि हुङ्गु उपत्यका आएका हुन् । उनीहरूले छेम्सीसँगै कुलुङ भाषा, सभ्यता र सँस्कार विकास गरेर स्थायी बसोबास गरेको देखिन्छ । कुलुङ सभ्यताको शुरुवातकर्ता छेम्सी थिए । पछि छेम्सी, ताम्सी, खप्दुलु राताप्खु सबै मिलेर साझा कुलुङ सभ्यताको विकास गरे । कुलुङ सभ्यताबाट कुलुङ जातिको विकास भएको हो ।
मोरोमुललाई पिल्मो समूहको पाछाका रुपमा कुलुङ वंशवलीमा समावेश छ । मोरोमुलको कथा यस्तो रहेको छ । धेरै वर्ष पहिले सोलुखुम्बूको जुभिङ गाउँबाट एकजना खालिङ युवा बरालिँदै पिल्मो गाउ आइपुगे । उनी पिल्मोमा नै बस्न थाले । तिमी को हौ ? भनेर सोध्दा कुलुङ भाषामा ‘मोरोङ मोरोङ’ मात्रै भन्थे । पछि पिल्मोकै कुलुङ युवतीसँग विवाह गरेर त्यही बसोबास गरेछन् । पिल्मो गाउमाँ बसोबास गरेपछि उसलाई पनि कुलमा राख्नु पर्ने भयो । कुलुङ परम्परा अनुसार कुल संस्कारमा राख्न दप्स्निङ राख्नु पर्ने हुन्छ । दप्स्निङ दिने कार्यक्रममा उस्ले राँगा काटेर ठूलो भोज लगाए । पुर्खा सम्मेलनमा उस्लाई ‘जुन्जुलु कुरिक्सा निङ्वारी लोरिसा’ दप्स्निङ दिइयो । जुभिङबाट आएको र भोज लगाई दप्स्निङ राखेकाले नाम प्रचलित भएको अर्थमा उक्त दप्स्निङ दिइएको थियो । मोरोमुल कुलुङ संस्कार अनुसार विधि गरेर पिल्मो समूहका कुलुङ भएका थिए । यसले पनि देखाउँछ जातिको निर्माण कसरी हुन्छ भनेर । तर भ्रम छर्नेहरूले मोरोमुललाई अर्कै रुपमा प्रस्तुत गरेका छन् ।

जातीय विभाजन वा खण्डिकरणका दुस्परिणामहरू

अहिले एउटै भाषा, सँस्कृति र इतिहास भएका केही कुलुङहरू स्वार्थीहरूको भ्रममा परेर नाछिरिङ हौं भनिरहेका छन् । आफ्नो समृद्ध सभ्यता र पहिचान त्यागेर नाछिरिङ बन्ने प्रकृया पहचिानको खोजी नभइ जातीय अन्तरध्वंस हो । पहिचानको खोजी भन्नु भएको पहिचानलाई मेटेर नभएको काल्पनिक चीज अंगाल्दै अन्तरध्वंसमा जानु कदापि होइन । आफ्ना आदिम पूर्खाहरूले निर्माण गरेरको भाषा–सँस्कृतिलाई त्याग्दै कसैले आवेगात्मक निर्णय गरे भोलिको सन्ततीले सराप्ने छ । अहिले लहडका भरमा कोही कुलुङबाट नाछिरिङ बने त्यसले भविश्यमा आपसी द्धवेष उत्पन्न हुने पक्का छ । भएको गौरवपूर्ण पहिचान त्यागेर अरु नै केही हुनु सँस्कार विहिन ‘कुसुण्डा’ करण हो । हामी कुलुङहरू कुसुण्डाकरण जानु पक्कै सही छैन । इतिहासको विरासत नबुझ्दा हामी जंगली अवस्थामा फर्कने दिन आउने अवस्था बन्छ । संसारमा भाषाको कारण धेरै द्धन्द्धहरू भएका छन् । बंगलादेश, तमिलनाडु, गोर्खाल्याण्ड, श्रीलङ्कन गृहयुद्ध आदि दर्जनौ यसका उदाहरण छन् । अहिले देखा परेको विभाजनको भोलीको दृष्य दाजुभाइ र छिमेकीबीच काटाकाट हो । हामी आदिवासी अगुवा भनिएकाहरूले खोजेको भोलि त्यो दुर्दान्त दिन होइन ।

डेढ दशकभन्दा बढी समय पहिचानको लडाइबाट हामी कुलुङहरू एउटा सार्वभौम अलग आदिवासीको रुपमा मान्यता पाउने अवस्थामा पुगेका छौं । यो बेला इतिहासले विभाजनको होइन थप एकता र सशक्तताको जिम्मेवारी हामीलाई दिएको छ । अहिलेको यो स्वर्णिम अवसरलाई नचिन्ने हो भने हामी फेरी दुर्भाग्यको गर्तमा फस्ने पक्का छ । नाछिरिङ भन्नेहरूले आफुलाई पहिचान दिलाउन त सक्ने छैनन् नै कुलुङलाई पनि डुबाउने छन् । सचेत कुलुङ पूर्खाहरू जोसमा होइन होसमा आएर जातीय एकतामा जुट्नु जरुरी छ । भएको हातखुट्टा काटेर आफैँ अपाङ्ग बन्नमा तर्फ कोही लाग्ने छैनौं ।

बंशवलीको आलोचना
नाछिरिङको वकालत गर्नेहरूले छेम्सी र राताप्खुको मामा–भाञ्जा साइनो थियो भन्ने गर्छन् । तर, कुलुङ वंशवली र चार्लस मेकडुगल, द कुलुङ राई, अ स्टडी इन किन्शिप एण्ड म्यारिज एक्सचेन्ज हेर्ने हो भने छेम्सी राताप्खुको मामा नभएर दाजु थिए । उनीहरू काका बडाबाका छोराहरू थिए ।

किराती मिथक र इतिहासले किरात सभ्यताको विकास ब्रहम्पुत्र नदीको मैदान–कामरुप(मिनापोङ्खो–हाल्कुम्बू)मा भएको बताउँछ । पछि गंगाको उत्तरी मैदान हुँदै सिन्धुघाँटीसम्म पुगेको थियो । किरातीहरू शिकार खेल्नेक्रममा पहिल्यै हिमालय पर्वततिर आउने गर्दथे । पहाडी क्षेत्रमा बाक्लो बसोबास भने गंगाको मैदानमा आर्यहरूको अतिक्रमण बढ्दै गएपछि भएको हो । आदिम किरात पूर्खा खम्बुहोङ बराह क्षेत्रमा थिएनन् ।

कुलुङ पूर्खा महाकुलुङ प्रवेश हुँदा आफैँबीचमा विहेबारी हुने चलन अन्त्य भइसकेको थियो । जबकी खम्बुहोङको पालामा आफ्नै परिवारको चेली विहे गर्ने चलन थियो । खम्बुहोङ कम्तीमा ३० हजार वर्ष पहिलेका पूर्खा थिए । यहाँ आउने कुलुङ पूर्खाहरू खम्बूहोङ नातीहरू थिएनन् । धेरैपछिका दर सन्तानहरू थिए । किन भने त्यो बेलासम्म सभ्यताको पूर्ण विकास नभएप नि आफ्नो परिवार भन्दा बाहिर विहे गर्ने चलन सुरु भइसकेको थियो । त्यसलाई मिथकले पनि स्वीकार गरेको छ । कुलुङ पूर्खाहरू थुलुङ, साम्पाङ या खालिङ मात्रै विहे गर्दथे ।

यलम्बर अगाडि कि खम्बुहोङ ? कुलुङ बंशवली बोल्दैन । पक्कै खम्बुहोङ अगाडिका हुन् । तर उनको वा उनको कुन दाजुभाइको दर सन्तान यलम्बर भए त ? खासमा पहिले साँघु र पुलहरू नहुने भएकाले सोझै सप्तकोशी तर्ने सम्भावना थिएन । नदीको साँघुरो ठाउँ खोज्दै साँघु थापेर वारिपारि तर्दै तराईबाट पहाडमा प्रवेश गरेका थिए ।

खासमा किरातीहरू पूर्वबाटै उपत्यका प्रवेश गरेर राज्य गरेको थिए । पछि युद्धमा हारेपछि पूर्वतिरै फर्किए र सुनकोशी पूर्वको पहाडी क्षेत्रमा सदासदालाई बसे र पूर्खाको विरासतलाई निरन्तरता दिए । बंशवलीमा छोराहरूको नाम अनुसार थर भएको लेखिएको छ । कुलुङ परम्पराअनुसार ७ पुस्तामा हाड फोड्न मिल्ने भएकोले एउटै वंशजमा विहेबारीपछि मात्रै थर(पाछा) फेर्ने चलन छ । त्यसो भएको हुनाले छोराहरूको नाम नै थर राखिएको सत्य होइन । छेम्सीका सन्तानहरू धेरै समय त्यही मात्रै भएर रहे । ताम्सी, खप्दुलु राताप्खुको पनि त्यही भयो । बाटोघाटोको असुविधा र फरक समुदायबीचको बेमेलका कारण पछि हुङ्गु उपत्यकामा रहेका चार कुलुङ पूर्खाका सन्तानहरूले आपसमानै विवाह गर्ने निर्णय गरे ।

हाड फोडियो र फरक–फरक दप्स्नीङ र पाछा दिन थालियो । अद्यपि कुलुङ समाजमा त्यही चलन छ । उदाहरणको लागि तोमोछाबाट हाडफोडेर मोरोखु नामाकरण गरियो । मोरोखुका तीन छोराहरू गोत्ती, छतिङ्खो र बाच्छो भए । उनीहरूको नाम फरक फरक भएपनि त्यो पाछा भएन, एउटा बंश(गोङ) मात्रै भयो । अहिले समग्रमा सबैले मोरोखु नै भन्दै आएका छन् । गोत्ती र छतिङ्खोमा केही हाडफोडिएको भएपनि मुइकुमले मोरोखु नै भन्दै आएकाछन् ।

अबको हाम्रो बाटो र युवा दायित्व

अहिले हामी इतिहासको एउटा कठीन घडिमा छौं । हजारौं वर्षको प्रयासबाट निर्माण भएको कुलुङ सँस्कृत, इतिहास र गौरवलाई उँचो बनाउने हामी सबैको दायित्व हो । मानवशास्त्रीय/समाजशास्त्रीय तथा भाषाशास्त्रीय अध्ययन – अनुसन्धानले कुलुङहरू छुट्टै पहिचान भएका सार्वभौम आदिवासी जातिहरू हुन भन्ने प्रमाणित गरिसकेको छ । यस अवस्था हामीले विभाजनको विषाक्त रेखाहरू कोरेर विनासको बाटो रोज्नु बुद्धिमानी हुन सक्दैन । कुलुङ समुदायका बुद्धिजीवि, महिला, युवा सबै जातीय, भाषिक, साँस्कृतिक र सामाजिक एकतामा लाग्नुको विकल्प छैन । हामीसँग धेरै समय उपलब्ध छैन । अलमलमा पर्नु हुँदै हुन्न । ओलोनुव !